जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १६:२७

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल र राष्ट्रिय जेनजी जनएकता अभियान लगायतका समूहले शनिबार माइतीघर मण्डलामा भेला भई सरकारले प्रतिवेदन लुकाउन खोजेको भन्दै नाराबाजी गरेका हुन् । प्रदर्शनकारीहरूले ‘जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ र ‘दोषीलाई कारबाही गर’ जस्ता प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनमा सहभागी युवाहरूले जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसके पनि सार्वजनिक नगरिनुले शङ्का उब्जाएको बताएका छन् । उनीहरूले जेनजी आन्दोलनका शहीद र घाइतेहरूलाई न्याय दिन प्रतिवेदन बाहिर ल्याउनुपर्ने माग राखेका छन् । आन्दोलनको आडमा नेताहरू सांसद बने पनि वास्तविक उद्देश्य अझै पूरा हुन नसकेको उनीहरूको गुनासो छ ।

युवाहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने कार्यमा आफूहरूको संलग्नता नरहेको स्पष्ट पार्दै घटनामा दोषी देखिएका जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने अडान राखेका छन् । प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.