
विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना विद्यार्थीहरूलाई पुरस्कृत गर्दै नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरणसहित स्वागत गरेको छ।
विश्वविद्यालयको मनमोहन इन्स्टिच्युट अफ लले शनिबार अपराध शास्त्रमा एलएलएमका पहिलो समूहका उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरेको हो।
विराटनगरमा सम्पन्न कार्यक्रममा बोल्दै स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी अफ लका डिन डा. रेखा श्रेष्ठले गुणस्तरीय पढाइ, समयमै परीक्षा र नतिजा प्रकाशनमा विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताए। उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरूलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा समेत जोड दिन आग्रह गरे।
यस्तै मनमोहन इन्स्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपानेले गुणस्तरीय शिक्षाकै कारण कानुन पढ्ने विद्यार्थीहरूको आकर्षण बढेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य भइरहेको जानकारी दिए। न्यौपानेका अनुसार विश्वविद्यालयले आगामी केही वर्षभित्रै कानुनमा विद्यावारिधि (पीएचडी) तहको पठनपाठन सुरु गर्ने लक्ष्य राखेको छ।
शिक्षक तथा अपराध शास्त्री केशवराज पन्तले एलएलएम पहिलो समूहका विद्यार्थीहरूको पढाइको गुणस्तर उत्कृष्ट रहेको बताए। यस्तै परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीले परीक्षालाई मर्यादित बनाएर समयमै नतिजा प्रकाशन गर्न विश्वविद्यालय सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे। कार्यक्रममा पहिलो सेमेस्टरका उत्कृष्ट विद्यार्थीहरू रामसुफल सदा र राजेश तिम्सिनाले विश्वविद्यालयको शैक्षिक वातावरण र परीक्षा प्रणालीको प्रशंसा गरे।
सो अवसरमा अपराध कानुनमा एलएलएम भर्ना भएका ३० जना नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम, परीक्षा र व्यवस्थापन प्रणालीबारे जानकारी दिइएको थियो। कार्यक्रममा एलएलएम पहिलो समूहको प्रथम सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरियो।
प्रथम हुने रामसुफल सदा, दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई जनही ४८ हजार रुपैयाँ प्रदान गरियो। त्यस्तै जेहेन्दार विद्यार्थी संजयकुमार यादवलाई प्राचार्यको तर्फबाट ११ हजार रुपैयाँको ‘गिफ्ट ब्याक स्कलरशिप’ प्रदान गरियो। कोशी प्रदेश सरकारले स्थापना गरेको यस विश्वविद्यालय अन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्दै आएको छ।

























