
काठमाडौं। विश्वव्यापी आतंकवादी गतिविधि हुने देशहरूको सूचीमा नेपालको स्थितिमा गत वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ। अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको स्वतन्त्र संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ ले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदन अनुसार नेपालको स्थानमा ठूलो सुधार देखिएको हो।
सन् २०२५ को प्रतिवेदनमा ६८ औँ स्थानमा रहेको नेपाल यस वर्ष ८९ औँ स्थानमा पुगेको छ। यसले नेपालमा सुरक्षा स्थिति बलियो बनेको र आतंकवादी गतिविधिमा कमी आएको संकेत गर्छ। प्रतिवेदनमा सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी गतिविधि वा आक्रमण नभएको उल्लेख छ। माओवादी सत्तारुढ गठबन्धनको हिस्सा भएकाले पनि कुनै हिंसात्मक रिपोर्ट नदेखिएको प्रतिवेदनमा जनाइएको छ।
१६३ देश समेटिएको यस सूचीमा छिमेकी मुलुक पाकिस्तान पहिलो नम्बरमा छ। आतंकवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान शीर्ष स्थानमा पुगेको हो। अर्को छिमेकी मुलुक भारत १३ औँ स्थानमा छ, जुन गत वर्षको तुलनामा दुई स्थान सुधार हो।
भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनामा ४३ प्रतिशतले कमी आएको बताइएको छ। दक्षिण एसियाली अन्य मुलुकहरूमध्ये अफगानिस्तान ११ औँ, म्यानमार १४ औँ र बंगलादेश ४२ औँ स्थानमा छन्। भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य रहेका देशहरूको सूचीमा परेका छन्।
प्रतिवेदनका अनुसार दक्षिण एसिया लगातार १० वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। यद्यपि, विश्वभर आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ। आतंकवादी हमलाको संख्या पनि २२ प्रतिशतले घटेर २ हजार ९ सय ४४ मा झरेको छ। समग्रमा यस वर्ष ८१ देशको स्थितिमा सुधार आएको छ भने १९ देशको अवस्था बिग्रिएको छ।
पश्चिमी देशहरूमा भने आतंकवादका कारण हुने मृत्युमा करिब २८० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। युरोपियन युनियनका १४ सदस्य राष्ट्रहरूमा सन् २०२४ मा ५८ वटा आतंकवादी हमला भएका थिए, जसमा फ्रान्समा १४ र जर्मनीमा ६ वटा हमला दर्ता भएका छन्।
























