सुनील पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ११:३५

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जना र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। सूचना प्रविधि केन्द्रका लागि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानि पुर्‍याएको अभियोग उनीहरूमाथि छ।

आयोगले पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रको स्पेसिफिकेसनभन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ।

पूर्वाधारको आपूर्ति, डेलिभरी र सञ्चालनका क्रममा गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य भएको अख्तियारको दाबी छ। उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरिएको थियो।

पौडेल र अन्य प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा बदनियतपूर्वक निर्धारित सर्त र मापदण्डविपरीत गुणस्तरहीन सामग्री आपूर्ति गर्न दिएर झुट्टा कागजातका आधारमा भुक्तानी गरेको अख्तियारको आरोप छ। पौडेल सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनलाई थप सजायको समेत माग दाबी गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.