समुदायबीचको विवाद सुल्झाउन सर्वपक्षीय छलफल

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ११:५२

काठमाडौं । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दू र मुस्लिम समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन। महाराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा शनिबार दुई पक्षबीच झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नुपरेको थियो भने घटनामा तीन जना घाइते भएका थिए।

विवादपछि जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्रदेखि बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा अहिले पनि जारी छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार अहिले विवाद समाधानका लागि सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको छ। उनले छलफल जारी रहेको र विवाद नटुङ्गिएसम्म निषेधाज्ञा कायम रहने बताए।

चैत ७ मा बरगदाको मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको मन्दिरमा डिजे बजाएपछि विवाद सुरु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए। चैते दसैँ नजिकिँदै गर्दा हिन्दू समुदायले पनि मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गर्ने तयारी गरिरहेका थिए। सोही क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा मन्दिर र मस्जिदमा तोडफोड समेत भएको छ।

अहिले स्थानीय राजनीतिक दलका अगुवा र सरकारी अधिकारीहरू धार्मिक सहिष्णुता कायम राख्न निकास निकाल्ने प्रयासमा जुटेका छन्। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.