
कपिलवस्तु। कपिलवस्तुको महराजगञ्ज क्षेत्रमा शनिबारदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन। शनिबार इद मनाउने क्रममा महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक प्रकाश कुँवरका अनुसार अहिले पनि केही स्थानमा स्थानीय युवाहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही ठाउँमा लाठीचार्ज समेत गरेको छ। शनिबारको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका थिए।
बढ्दो तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो दिउँसो २ बजेदेखि नै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ। प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरे पनि भिड पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
























