
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा आइतबार दिउँसो चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीका सई (सशस्त्र प्रहरी नायव निरीक्षक)सहित चार जना घाइते भएका छन् ।
स्थानीयको कुटाइबाट चितुवा पनि मरेको छ । घाइते अवस्थामा भेटिएको चितुवाले एक्कासि आक्रमण गर्न थालेपछि त्रास फैलिएको थियो । मकैबारीभित्र फेला परेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा त्यसले सशस्त्र प्रहरीसहित स्थानीयलाई आक्रमण गरेको हो ।
स्थानीय कमल खड्काको मकैबारीमा दिउँसो १ बजेतिर चितुवा घाइते अवस्थामा फेला परेको थियो । घटनाको जानकारी पाउनासथ घटनास्थल पुगेको प्रहरी टोलीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिनका लागि जिल्ला डिभिजन वन कार्यालय झापासँग समन्वय गर्यो ।
साँझ करिब ६ बजे सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षणबाट प्राविधिकसहितको विज्ञ टोली घटनास्थलमा पुगेको थियो । त्यसपछि नियन्त्रणमा लिने प्रयास भइरहेका बेला चितुवा एक्कासि बिच्किएर आक्रामक बनेको प्रहरीले जनाएको छ ।
चितुवाले सुरुमा घटनास्थलमा खटिएका सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठमाथि आक्रमण गरेको थियो । आक्रमणबाट श्रेष्ठको अनुहार, हातखुट्टा, कान र बायाँ पाखुरासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बुद्धशान्तिस्थित भागीरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट अन्य तीन जना स्थानीय पनि घाइते भएका छन् । घाइते हुनेमा बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर नगरपालिका–१० का २६ वर्षीय विशाल कार्की रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
चितुवा झन् आक्रामक बन्दै जथाभावी आक्रमण गर्न थालेपछि त्रसित एवं आक्रोशित बनेका स्थानीयले एकजुट भएर चितुवालाई कुटपिट गरेका थिए । त्यसक्रममा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत चितुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय झापामा राखिएको छ । बस्तीनजिकै चितुवा देखिनु, जथाभावी आक्रमण हुनु र नियन्त्रण प्रक्रियामा समेत जोखिम बढ्नुले स्थानीय त्रसित बनेका छन् ।
























