
काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाइसकेको प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता र जवाफदेहिताविपरीत भएको निष्कर्ष निकालेको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि छलफल गर्दै पार्टीले पछिल्लो निर्वाचन परिणामको समेत गम्भीर समीक्षा गरेको छ ।
निर्वाचनमा कमजोर प्रदर्शन हुनुमा आन्तरिक गुटबन्दी, असहयोग, तथा संगठनात्मक कमजोरी मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ । त्यसैगरी, गठबन्धन सरकारको कार्यसम्पादन जनअपेक्षाअनुसार हुन नसक्नु, विगतका संरचनागत कमजोरीहरू कायमै रहनु र जनआक्रोश बढ्नु पनि हारका कारणका रूपमा उल्लेख गरिएको छ ।
‘जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिप्रति असन्तोष व्यक्त गर्नु तथा डिजिटल माध्यमको प्रभावले नयाँ शक्तिलाई फाइदा पुग्नु पनि विश्लेषणमा समेटिएको छ । बैठकले व्यक्तिगत नभई संरचनागत र परिस्थितिजन्य कारणले पनि चुनावमा हार बेहोर्नु परेको ठहर गर्दै जिल्ला र निर्वाचन क्षेत्रबाट थप प्रतिवेदन माग्ने निर्णय गरेको छ ।
प्राप्त भएपछि प्रतिवेदनलाई एकीकृत गरी पुनः समीक्षा गरिने कांग्रेसले जनाएको छ । साथै, कांग्रेसले अब १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गर्दै पार्टी एकता सुदृढ गर्न र कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरेको छ ।
























