
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।
गृह मन्त्रालयमा सोमबार आयोजित प्रशंसापत्र वितरण कार्यक्रममा उनले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समिति, कमाण्ड फोर्स, सुरक्षा सेल तथा जिम्मेवार सरकारी अधिकारीहरूको समन्वय र सक्रियता उल्लेखनीय रहेको बताए । उनले विगतमा केही निर्णय पर्याप्त अध्ययन बिना हुने गरेको उल्लेख गर्दै यसपटक भने निर्णयअघि विस्तृत छलफल, समन्वय र आवश्यक स्क्रिनिङ गरिएको बताए ।
त्यसकै परिणामस्वरूप निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको उनको भनाइ थियो । निर्वाचनमा खटिएका सुरक्षाकर्मीको सिर्जनशीलता, क्षमता र जिम्मेवारीप्रति विशेष धन्यवाद व्यक्त गर्दै गृहमन्त्री अर्यालले आगामी दिनमा पनि यस्तै प्रतिबद्धता आवश्यक रहेको बताए ।
























