पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वमन्त्री आचार्य धरौटीमा रिहा

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार १९:१६

पोखरा । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीमप्रसाद आचार्य पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सोमबार आचार्य विशेष अदालतमा उपस्थित भएका थिए । अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई धरौटी रकम बुझाउन आदेश दिएको थियो ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने, ‘उहाँसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग थियो । जुन बुझाइसक्नु भएको छ ।’ आचार्य पर्यटनमन्त्री हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत अस्वाभाविक रूपमा बढाइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो ।

आयोगले आचार्यसहित अन्य सम्बन्धित व्यक्तिहरूविरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आचार्य धरौटीमा रिहा भए पनि मुद्दा अझै चलिरहेको छ ।

मुद्दाको छिनोफानोका लागि अदालतले अन्तिम सुनुवाइको मिति तय गर्नेछ । यस मुद्दाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खर्च र सरकारी अनियमिततालाई बाहिर ल्याएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.