चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ०६:३४

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आज (मंगलबार) चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार दिउँसो चारवटै प्रदेशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

केही स्थानमा वर्षासँगै हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्नेछ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदलीसँगै थोरै स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान छ । मंगलबार राति भने देशका हिमाली भू–भागमा सामान्य बदली रहने र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ ।

मौसमविद्हरूले चट्याङ र वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा यात्रामा असर पर्न सक्ने जनाएका छन् । उनीहरुले प्रतिकूल मौसमबाट बच्नलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.