
काठमाडौं । सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक (आईजीप) राजु अर्याल अब एक महिनापछि अवकाशमा जाने भएका छन् ।
आईजीपीको चार बर्से कार्यकाल पूरा गर्दै अर्याल २०८३ वैशाख १८ देखि सेवा निवृत्त हुने भएका हुन् । उनले सशस्त्र प्रहरीको कमाण्ड २०७९ वैशाख १९ बाट सम्हालेका थिए । अर्यालले आफ्नो कार्यकालमा संगठनमा महत्वपूर्ण सुधार र नेतृत्व क्षमताको छाप छोडेका छन् ।
नेपाल प्रहरीको इन्स्पेक्टरबाट २०५४ चैत १८ मा नेपाल प्रहरीले आफ्नो करिअर सुरु गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । उनको ब्याचमेट दानबहादुर कार्की भने हाल नेपाल प्रहरीको आईजीपी छन् ।
प्रहरी ऐन र नियमावली अनुसार नेपाल प्रहरी र सशस्त्र दुवै संगठनमा सेवा अवधि ३० वर्ष र आईजीको पदावधि चार वर्ष रहने व्यवस्था छ । अर्याल फौजमा प्रवेश गरी २८ वर्ष पूरा गर्दै सेवा निवृत्त हुन लागेका हुन् ।
अर्यालको नेतृत्वमा सशस्त्र प्रहरी बलले २०७९ र २०८२ मा सम्पन्न निर्वाचनका समयमा दोस्रो सुरक्षा घेरामा महत्वपूर्ण भूमिका खेलेको थियो । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन र जेनजी प्रदर्शन जस्ता उथलपुथलकारी घटनाका बेला पनि उनले संगठनलाई स्थिर राख्न सफल रहे ।
साथै, सरुवा–बढुवामा पारदर्शिता ल्याउने पहल गरे । जसले पूर्वसूची प्रकाशनको प्रणाली लागू गर्दै भनसुन अन्त्य गर्न सहयोग पुर्यायो । तर, उच्च अधिकृतहरूको बढुवामा हुने राजनीतिक ‘चलखेल’ अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।
अर्याल सेवा निवृत्त भएपछि सशस्त्रको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन्द्र) नेतृत्वको मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गर्नेछ । जानकारहरूका अनुसार यो नियुक्ति बालेन सरकारको सुशासनको एउटा ‘परीक्षा’ हुने अपेक्षा छ ।
सशस्त्र प्रहरीमा आईजीको प्रतिस्पर्धा अहिले दुई एआईजी (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक)मा सीमित छ । एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहाल क्रमशः २०७९ जेठ ६ र २०७९ असोज २८ मा बढुवा भएका हुन् । वरीयतामा पहिलो नम्बरमा रहेका पौडेल नै सबैभन्दा बलियो दाबेदार मानिन्छन् । दाहाल पनि आईजीपीका दाबेदार हुन् ।
अर्का एआईजी गणेश ठाडा मगर २०८२ असार ३ मा एआईजीमा बढुवा भएका थिए । उनी पौडेल र दाहालभन्दा निक्कै पछि छन् । पौडेल हाल मानवस्रोत विकास विभागको प्रमुख, दाहाल सीमा सुरक्षा विभागको प्रमुख र ठाडा मगर कार्य विभागको प्रमुख रहेका छन् ।
नियमावली अनुसार सरकारले एआईजीबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । कार्यकुशलतामा नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता, आर्थिक अनुशासन र संगठनलाई सृजनात्मक रूपमा परिचालन गर्ने क्षमता हेर्ने नियमावलीमा स्पष्ट छ ।
सशस्त्र प्रहरी बलमा हाल ६ जना डीआईजीको पद रिक्त छ । कुमार न्यौपाने, कमल गिरी, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा गएपछि दुई नयाँ दरबन्दी थपिएको भए पनि अझै बढुवा हुन सकेको छैन ।
यो सन्दर्भमा बालेन सरकारले नयाँ आईजी नियुक्त गर्दा नारायणदत्त पौडेल र वंशीराज दाहाल दाबेदारका रूपमा उभिएका छन् । यस नियुक्तिले सशस्त्रको भविष्य र सरकारको नेतृत्व क्षमताको परीक्षा हुने विज्ञहरु बताउँछन् ।
























