
विराटनगर । कोशी प्रदेशका तीन मुख्य जिल्लाहरू मोरङ, सुनसरी र झापामा बर्ड फ्लु (H5N1) को संक्रमण भेटिएकाे छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार हालसम्म मोरङका ५, सुनसरीका ५ र झापाको १ गरी कुल ११ स्थानमा संक्रमण पुष्टि भएको छ ।
कहाँ–कहाँ देखियो संक्रमण ?
मोरङकाे विराटनगरको दाहाल कृषि फार्म, सुन्दरहरैँचाको हलेसी महादेव फार्म, उर्लाबारीको अठियावारी फार्म, र कटहरीका ए टु जेड तथा कामख्या पोल्ट्री फार्ममा बर्ड फ्लु भेटिएकाे छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १९ मा रहेको ओको कृषि फर्म, इटहरी १७ मा रहेको लक्ष्मी पोल्ट्री फार्म, इटहरी १८ मा रहेको रानी कृषि फार्म, इटहरी ११ मा रहेको आलम कृषि फर्म, गढी गाउँपालिका ५ मा रहेको संगित कृषि फर्मममा बर्ड फ्लू पुष्टी भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा मनोजकुमार महतोका अनुसार सबैभन्दा धेरै ओको कृषि फर्मममा रहेको ११ हजार २० कुखुरा नष्ट गरिएको छ । उनका अनुसार अन्य केही स्थानकाे स्याम्पल परीक्षणका लागि काठमाडाैमा पठाइएकाे छ । झापा दमक नगरपालिका १० मा रहेको दमक एग्रिकल्चरमा बर्ड फ्लूको संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएका क्षेत्रहरूमा सरकारी टोलीले ‘स्ट्याम्पिङ आउट’ (पन्छी नष्ट गर्ने) प्रक्रिया अघि बढाएको छ । संक्रमण पुष्टी भएको फर्मका कुखुरा, अण्डा, दाना र फर्ममा ओछ्याइएको सामग्री समेत नष्ट हुन्छ ।
पशु पन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डाक्टर कमल गिरीका अनुसार प्रयोगशालामा परीक्षण गर्दा शंकास्पद देखिएका करिब ५० वटा स्याम्पल परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाउँदा ११ वटा नमुनामा एच५एन१ पुष्टी भएको हो । उनका अनुसार गत साउन यता शंकास्पद देखिएका १९८ नमुना परीक्षणका लागि केन्द्रमा पठाउँदा ४५ नमुनामा बर्ड फ्लु पुष्टि भएकाे छ ।
पछिल्लाे केही दिनयता बाेइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम बढ्दाे छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा दैनिक ५–७ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेका छन् । विराटनगरमा परीक्षण गर्दा शंकास्पद देखिए थप परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा नमुना पठाइन्छ ।
























