
काठमाडौं । एक सातापछि नेपाल आयल निगमले भरी सिलिन्डर ग्यास विक्री गर्ने तयारी गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् ।
ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,‘ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।’
निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् ।
नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएको छ । ‘नेपालमा एलपी ग्यास पाइपलाइन निर्माण गर्नु अत्यावश्यक भइसकेको उनले बताए ।
पाइपलाइन नहुँदा ग्यास ढुवानीमा मात्रै वार्षिक छ अर्बभन्दा बढी खर्च हुँदै आएको उनले बताए । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक भएको उनको भनाई छ ।
























