
विराटनगर । झापाको भद्रपुरमा आफ्नै वृद्ध आमालाई कुटपिट गर्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका– ८ क्याम्पस मोड बस्ने ३७ वर्षीय यशिस घिमिरेलाई ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ९ गते यशिसले आफ्नी आमामाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको थियो ।
भिडियोमा देखिएको दृश्यका आधारमा प्रहरीले तत्काल सक्रियता देखाउँदै उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले पक्राउ परेका घिमिरेमाथि अनुसन्धान भइरहेको बताए ।
कुटपिटबाट घाइते भएकी चन्द्रमाया घिमिरेको प्रहरीले उद्धार गरेको छ । उनको स्वास्थ्योपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।
























