निर्माणाधीन दुईवटा पुल बाढीले क्षतिग्रस्त

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १०:२५

पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल मंगलबार रातिको बाढीले क्षतिग्रस्त भएका छन् ।

पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुल बाढीका कारण भाँचिएका हुन् । प्राविधिकहरूका अनुसार अचानक आएको बाढीले टेको (सपोर्ट) कमजोर पारेपछि पुल भाँचिएका हुन् ।

पाँचथरस्थित मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो पुलको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रका अनुसार चैत २ गते मात्र पुलको ढलान गरिएको थियो ।

उक्त पुल ७ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो । यसअघि पनि सोही स्थानमा रहेको पुल बगाएपछि नयाँ निर्माण सुरु गरिएको थियो ।

अहिले निर्माणाधीन अवस्थामै भाँचिएको छ । पुल नहुँदा उत्तरी भेगका स्थानीय बासिन्दाले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन् ।

यसैगरी, ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल पनि अन्तिम चरणमा पुगेको अवस्थामा भाँचिएको हो । पूर्वाधार कार्यालयका प्रमुख कुमार कर्णका अनुसार ढलानपछि आवश्यक समय नपुग्दै बाढी आएर सपोर्टमा क्षति पुर्‍याउँदा पुल भत्किएको छ। उक्त पुल ७ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.