
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि गुणस्तरीय निर्माण र पुँजीगत खर्च वृद्धि गर्न प्रत्येक चौमासिकमा खर्चको लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताएका छन्। विराटनगरमा उद्योग संगठन मोरङद्वारा आयोजित ‘घर निर्माण मेला’ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बजेट खर्च बढाएर आर्थिक गतिविधिलाई चलायमान बनाउने बताए।
राज्यका अन्य संरचनाको तुलनामा प्रदेशले वित्तीय प्रगतिमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्दै उनले यस वर्ष पनि प्रगति कायम रहने उल्लेख गरे। जनताको आधारभूत आवश्यकता र आकाङ्क्षासँग जोडिएको घर निर्माण सम्बन्धी मेला आयोजना गरेर उद्योग संगठनले उत्कृष्ट कार्य गरेको भन्दै उनले प्रशंसा गरे। उनले भूकम्प प्रतिरोधात्मक, आगलागीबाट कम क्षति हुने र प्राकृतिक प्रकोपबाट सुरक्षित घर निर्माणका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले विराटनगरको पायक पर्ने स्थानमा ४ देखि ५ कट्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक र सुविधासम्पन्न प्रदर्शनी स्थल निर्माण गरिदिने प्रतिबद्धता समेत जनाए। यस्तो प्रदर्शनी स्थलबाट निर्माण व्यवसायी र आम जनताले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ थियो।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो प्रदर्शनीको मुख्य उद्देश्य स्वदेशी निर्माण सामग्रीको प्रवद्र्धन र आयात प्रतिस्थापन गरी निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु हो। मेलामा घर निर्माणका लागि आवश्यक ७५ वटा स्टलहरू राखिएका छन्।
प्रदर्शनीमा वास्तु परामर्श, सिमेन्ट, स्टिल, स्यानिटरी, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि र सुरक्षा उपकरण जस्ता उत्पादन र सेवाहरू एकै स्थानमा उपलब्ध गराइएको छ। कार्यक्रममा उपाध्यक्ष भोलेश्वर दुलाल, संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार संघ मोरङका अध्यक्ष अनुपम राठीले निर्माण उद्योगलाई चलायमान बनाउन यस्ता मेलाले सहयोग पुग्ने बताए।
























