
काठमाडौं। चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी र सन्तुष्टि मिलेको बताएकी छन्। बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू धेरै आशा र उत्साह बोकेर बिदा हुन लागेको बताएकी हुन्।
सम्बोधनका क्रममा उनले ६ महिनाअघि जेनजी आन्दोलनपछिको कठिन परिस्थितिमा निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित आफूले पद सम्हालेको स्मरण गरिन्। ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने पवित्र उद्देश्यले मैले यो चुनौतीपूर्ण भूमिका स्वीकार गरेकी थिएँ,” उनले भनिन्, “अहिले सफल निर्वाचनपछि केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु।’
प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनमार्फत नागरिकले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरिन्। वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने स्थापित भाष्यलाई यो निर्वाचनले गलत सावित गरिदिएको उनको तर्क थियो। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य र आर्थिक विकासको क्षेत्रमा नतिजामुखी काम गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।
आन्दोलनको माग र नागरिकको आकाङ्क्षा बमोजिम सामाजिक न्याय स्थापित गर्ने दिशामा नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन्। अब भोलि शुक्रबार नयाँ प्रधानमन्त्रीका रूपमा बालेन शाहले शपथ लिने कार्यक्रम तय भइसकेको छ।
























