वर्षा, हिमपात र असिनाको सम्भावना

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार ०६:३३

काठमाडौं । देशभर मौसम फेरि बद्लिने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानसम्म नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव कायमै छ । जसका कारण विभिन्न क्षेत्रमा वर्षा र हिमपातसँगै असिनाको सम्भावना छ ।

शुक्रबार बिहान सुदूरपश्चिमसहित पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम आंशिक रूपमा सफा रहेको छ । यद्यपि, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसोतिर मौसम थप सक्रिय हुने अनुमान गरिएको छ । हिमाली भू–भागमा अधिकांश स्थानमा बदली रहनेछ भने पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदलीको सम्भावना छ ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा पनि यसको असर देखिन सक्नेछ ।

राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन । हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने कोशी, मधेशसहित पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ ।

यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी एवं हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा समेत चट्याङ र असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाका कारण हुन सक्ने सम्भावित क्षतिबाट बच्नलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेषगरी किसान, यात्रु र हिमाली क्षेत्रमा जानेहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.