ओली र लेखक पक्राउविरुद्ध कानुन व्यवसायी अदालत जाने तयारीमा

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ११:५४

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै उनीहरू निकट कानुन व्यवसायीहरूले कानुनी उपचारको प्रक्रिया थालेका छन् । पूर्वाग्रही रूपमा र प्रक्रिया मिचेर पक्राउ गरिएको दाबी गर्दै आइतबार बिहान अदालत खुल्नेबित्तिकै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी भइरहेको छ ।

कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरिएको अवस्थामा सम्बन्धित व्यक्ति वा उनका नातेदारले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउने संवैधानिक व्यवस्था छ । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आफूहरूले सबै कानुनी लडाइँ लड्ने र त्यसका लागि छलफल सुरु गरिसकेको बताएका छन् । अर्का वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि पक्राउका कतिपय सन्दर्भ नमिलेकाले कानुनी उपचार खोज्न परामर्श भइरहेको जानकारी दिए ।

कानुन व्यवसायीहरूको दाबीअनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनको तथ्य र निष्कर्ष खण्डमा समानता छैन । तथ्य खण्डमा ओली र लेखकको प्रत्यक्ष संलग्नता नभेटिएको अवस्थामा निष्कर्षमा उनीहरूमाथि फौजदारी कारबाहीको सिफारिस गरिनु त्रुटिपूर्ण रहेको उनीहरूको तर्क छ ।

दोस्रो, फौजदारी कसुरमा संलग्न भएको र भागेर जाने जोखिम भएका व्यक्तिलाई पक्राउ गर्न प्रयोग गरिने ‘जरुरी पक्राउ पुर्जी’ को व्यवस्थाको समेत दुरुपयोग भएको दाबी गरिएको छ । राज्यले नै २४ सै घण्टा सुरक्षा घेरामा राखेका व्यक्तिहरू भागेर जाने सम्भावना नभएको अवस्थामा जरुरी पुर्जीका आधारमा गिरफ्तार गर्नुलाई उनीहरूले राजनीतिक पूर्वाग्रह भनेका छन् ।

एमाले र कांग्रेस निकट कानुन व्यवसायीहरूले यस विषयमा संयुक्त रूपमा अदालत जानेबारे पनि सरसल्लाह गरिरहेका छन् । प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले पक्राउ प्रक्रियामाथि तत्काल अदालतमा प्रश्न उठ्ने निश्चित रहेको बताए । उनले जाँचबुझ आयोगको प्रतिवेदन सन्तुलित नभएको र प्रतिवेदनकै भरमा धरपकड गर्नु उचित नहुने धारणा राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.