‘सरकारले ओली र लेखकलाई पक्राउ गर्न हतार गर्यो’

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १३:२४

विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन अध्ययन गरेर मात्र सरकार प्रक्रियागत रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री मेहताले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विषयमा सरकारले निकै हतारो गरेको बताएका हुन्।

नयाँ सरकार गठन भएसँगै तत्कालै नेताहरूलाई कारबाहीको दायरामा ल्याइनु प्रक्रियासंगत नभएको उनको तर्क छ। मन्त्री मेहताले भने, ‘सरकार हिजो गठन भएको हो, आजै जुन हिसाबले पक्राउको प्रक्रिया अघि बढ्यो, यो हतारो भयो। सरकारले विषयवस्तुलाई राम्ररी बुझेर र अध्ययन गरेर मात्र प्रक्रियागत रूपमा अघि बढ्नुपथ्र्यो।’

गलत गर्ने जोकोही पनि दण्डित हुनुपर्नेमा आफू स्पष्ट रहेको बताउँदै उनले विधिको शासन र संवैधानिक सीमाभित्र रहेर सरकार चल्नुपर्ने उल्लेख गरे। ‘विधिको शासन छ, संविधान अनुसार लोकतन्त्रको सीमाभित्रको सरकार छ। तर सरकारले जुन सुरुवात गरेको छ, त्यो अलि हतार गरेजस्तो देखियो। यसमा विस्तृत अध्ययनका साथ अघि बढ्दा राम्रो हुने थियो,’ उनले थपे।

मन्त्री मेहताका अनुसार भदौ २३ र २४ गतेको घटनालाई प्रतिवेदनमा कसरी समेटिएको छ भन्ने कुरा विस्तृत रूपमा बुझ्न अझै बाँकी नै छ। उनले प्रतिवेदनमा समेटिएका कुराहरूलाई कार्यान्वयनमा लैजान केही समय लाग्ने र त्यसलाई कानुनी प्रक्रिया पुर्‍याएर मात्र अघि बढाउनुपर्ने बताए। ‘जसले गलत गर्छ, त्यो दण्डित हुनुपर्छ भन्नेमा दुईमत छैन, तर यसलाई प्रक्रियागत रूपमा लैजानुपर्ने थियो,’ उनले दोहोर्‍याए।

शुक्रबार सरकार गठन भएसँगै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङको निर्देशनमा शनिबार बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.