
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेलत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई चिकित्सकको सल्लाहअनुसार नै क्याबिनमा राखिएको हो।
अहिले ओली अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा उपचाररत छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मुटुको चाल बढेको थियो भने उनले पेट दुखेको गुनासो गरेका थिए। प्रारम्भिक एक्सरे रिपोर्टमा उनको पेटमा ‘ढुङ्गा’देखिएको र सोही कारण दुखाइ भएको हुन सक्ने चिकित्सकको अनुमान छ।
दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका र मुटुको एन्जियोप्लास्टी गराएका ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै मिर्गौला, मुटु र पेट रोग विशेषज्ञको टोलीले संयुक्त रूपमा निगरानी गरिरहेको छ। उनले नियमित रूपमा सेवन गर्दै आएका प्रत्यारोपणपछिका औषधि, थाइरोइड र मुटुको औषधिको प्रभावबारे पनि जाँच भइरहेको छ।
‘प्रत्यारोपण गरेका बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुने भएकाले उहाँलाई क्याबिनमा राखेर विशेष निगरानी गरिरहेका छौँ,’ उपचारमा संलग्न एक चिकित्सकले बताए। मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिसकिएको छ भने मिर्गौलासम्बन्धी अन्य रिपोर्टहरू आउन बाँकी छ। सबै परीक्षणको नतिजा आएपछि मात्र उनलाई डिस्चार्ज गर्ने वा अस्पतालमै राख्ने भन्ने टुङ्गो लाग्नेछ।
जेन–जी आन्दोलनका क्रममा भएको घटनामा फौजदारी कसुरको आरोपमा प्रहरीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आज बिहान पक्राउ गरेको हो। शनिबार सार्वजनिक बिदा भएकाले दुवै जनालाई आइतबार मात्रै अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ।
























