
काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई लिएर बालेन शाह नेतृत्वको सरकार र गृहमन्त्री सुधन गुरुङलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौँको माइतीघरमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्।
सचिव बस्नेतले सरकारले प्रतिशोधपूर्ण राजनीति सुरु गरेको आरोप लगाउँदै यसको मूल्य अत्यन्त महँगो हुने बताएका छन्। ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई कुन मोडलतर्फ लैजाँदै छ- पाकिस्तानी, बङ्गलादेशी वा युक्रेन?’ भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
उनले वर्तमान सरकारको गलत निर्णयका कारण शपथ लिएकै दिनदेखि ‘दिनगन्ती’ सुरु भइसकेको दाबी गरे। हिजोका दिनमा सरकारी सम्पत्ति तोडफोड गर्ने समूहलाई परिचालन गर्नेहरूले अहिले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बस्नेतको तर्क छ। उनले दुई तिहाइको दम्भ नदेखाउन र पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गरी घाइतेको उपचार गर्न माग गरेका छन्।
एमालेले आइतबार दिउँसो १२ बजे देशभरका जिल्ला सदरमुकामहरूमा अझ सशक्त र प्रतिरोधात्मक आन्दोलन गर्ने घोषणा गरेको छ। साथै, माइतीघर मण्डलामा जनसङ्गठनहरूको प्रदर्शन भोलि पनि निरन्तर रहने बस्नेतले जानकारी दिए।
























