
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायमै रहेको छ ।
यसको असरले आज (आइतबार) बिहान देशभर सामान्यदेखि आंशिक बदली भएको छ भने कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । आइतबार दिउँसो पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र थोरै स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।
तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ ।
यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ ।
























