
काठमाडौं। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज (आइतबार) काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार सार्वजनिक बिदा परेकाले प्रहरीले उनलाई आज मात्रै अदालत लगेको हो।
आजै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ। गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। सो क्रममा २ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए भने सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसहितका महत्त्वपूर्ण संरचनामा तोडफोड र आगजनी भएको थियो।
उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई दोषी ठहऱ्याउँदै कारबाहीका लागि सिफारिस गरेको थियो। चैत १३ गते गठित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा प्रहरीले चैत १४ गते बिहान ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएकाले ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।
























