माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १२:३३

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितका प्रतिवादीहरूको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थका लागि हस्तान्तरण गराएको अभियोग उनीमाथि छ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, सोही बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ। नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। अभियोगपत्रका अनुसार नेपालले २०६६ माघ १८ गते ‘ठाडो आदेश’ मार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न बाटो खोलिदिएका थिए।

कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले यो मुद्दा अगाडि बढाएको हो। आजको सुनुवाइले यस चर्चित जग्गा प्रकरणमा कानुनी प्रक्रियालाई थप प्रष्ट पार्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.