
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको थुना म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौंमा बहस भएको छ। पूर्वमहान्यायाधिवक्ता रमेश बडालले ओलीलाई थुनामा राखिरहनु पर्ने ठोस आधार नभएको भन्दै बाहिरै राखेर अनुसन्धान गर्न माग गरे।
न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गर्दै बडालले भदौ २३ र २४ गतेको घटनामा ओलीको संलग्नता पुष्टि हुने प्रमाण नरहेको दाबी गरे। उनले छानबिन प्रतिवेदनमा समेत कसैलाई मार्ने नियत नदेखिएको उल्लेख भएको तर्क गर्दै ओली भागेर जाने वा प्रमाण नष्ट गर्ने कुनै सम्भावना नरहेको बताए।
जेनजी आन्दोलनका क्रममा ओलीले गोली चलाउने आदेश दिएको भन्ने आरोपको खण्डन गर्दै बडालले केवल घटनाको जानकारी भएकै भरमा मुद्दा चलाउन नमिल्ने जिकिर गरे। उनले छानबिन आयोगको प्रतिवेदनलाई मात्र आधार बनाएर म्याद थप गरिरहनु न्यायसंगत नहुने तर्फ इजलासको ध्यानाकर्षण गराए।
























