इटहरीको यातायातमा अनियमितता आरोपपछि प्रमुख हटाइए, दुई साताभित्र प्रतिवेदन दिने गरी छानबिन सुरु

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १६:२७

विराटनगर । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)मा गम्भीर अनियमितताको आरोप लागेपछि कार्यालय प्रमुख सतिश सत्याललाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानिएको छ ।

बढ्दो गुनासो र अनुगमनबाट भेटिएको कैफियतलाई आधार बनाएर उनलाई विराटनगरस्थित कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तानिएको हो । मन्त्रालयले उनीमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार बिहीबार भएको निर्णयअनुसार नवौं तहका अधिकृत सत्याललाई मन्त्रालयमा तानेर थप छानबिन अघि बढाइएको छ । हाल मन्त्रालयमा हाजिर भइरहेका सत्याललाई कुनै जिम्मेवारी दिइएको छैन । मन्त्रालयले उनलाई सक्रिय जिम्मेवारीबाट अलग राख्दै छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

सत्यालमाथि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा वा नवीकरण गर्दा अनिवार्य गरिने स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पास गराएको आरोप लागेको छ । मन्त्रालयका अनुसार सेवाग्राहीबाट लिखित तथा मौखिक रूपमा निरन्तर गुनासो आइरहेका थिए । गुनासो आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीसम्म पनि पुगेपछि मन्त्रालयले प्रत्यक्ष चासो लिँदै छड्के अनुगमन गरेको थियो ।

सचिव तामाङकै नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई उत्तीर्ण गराइएको प्रमाण फेला परेको मन्त्रालयको दाबी छ । त्यसपछि तत्कालै सत्याललाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानिएको हो । अनुगमन टोलीले सत्यालको कार्यकक्षमा रहेका दराजसमेत सिल गरेको छ ।

स्रोतका अनुसार सत्याललाई यसअघि पनि पटकपटक मौखिक रूपमा सचेत गराइएको थियो । तर, सचेत गराउँदा पनि सुधार नआएको र पछिल्लो अनुगमनमा समेत अनियमितता पुष्टि भएपछि कडा कदम चाल्नु परेको मन्त्रालयको भनाइ छ ।

यातायात कार्यालयहरूमा लामो समयदेखि स्वास्थ्य परीक्षण (मेडिकल) प्रक्रियामा अनियमितता हुने गुनासो बढ्दै आएको थियो । नक्कली व्यक्तिबाट परीक्षण गराउने, पैसा लिएर रिपोर्ट मिलाउनेजस्ता गतिविधि हुने आरोप बारम्बार लागेपछि मन्त्रालयले सुधारका लागि केही संरचनात्मक कदम पनि चालेको थियो । सोहीअनुसार अस्थायी दरबन्दी सिर्जना गरी कोशी प्रदेशका तराई क्षेत्रका यातायात कार्यालयहरूमा गत कात्तिक १६ गतेदेखि विशेषज्ञ चिकित्सक खटाइएको थियो ।

मन्त्रालयका अनुसार झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा दुई जना, इटहरीमा दुई जना र विराटनगरमा एक जना विशेषज्ञ चिकित्सक नियुक्त गरिएका छन् । यी चिकित्सकहरूले लाइसेन्स जारी वा नवीकरणका क्रममा आवश्यक स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिने व्यवस्था मिलाइएको छ । तर, चिकित्सकहरूले फेल गरेका सेवाग्राहीलाई समेत कार्यालय प्रमुखकै तहबाट पास गराउने काम भइरहेको भेटिएको मन्त्रालयको दाबी छ ।

यता, सत्यालले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् । उनले स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिलाई पैसा लिएर पास गराएको आरोप निराधार रहेको दाबी गरे ।

सेवाग्राहीलाई सहज बनाउन आफूले ‘रिचेक’ अर्थात् पुनः परीक्षणको सिफारिस गर्ने गरेको र त्यसैलाई गलत रूपमा व्याख्या गरिएको उनको भनाइ छ । सत्यालले कार्यालयमा लामो समयदेखि रहेको स्वास्थ्य परीक्षणसम्बन्धी समस्या समाधान गर्ने प्रयास आफूले गरिरहेको समेत बताए ।

घटनाको वस्तुगत सत्यता पत्ता लगाउन मन्त्रालयले औपचारिक छानबिन समिति गठन गरेको छ । यातायात व्यवस्था महाशाखा प्रमुख उर्मीला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । समितिलाई दुई साताभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।

सचिव तामाङका अनुसार समितिले आइतबारदेखि नै आफ्नो काम सुरु गरिसकेको छ । समितिले निर्धारित समयभित्र प्रतिवेदन बुझाउने तामाङले बताए । उक्त प्रतिवेदनका आधारमा थप प्रशासनिक वा कानुनी कारबाही अघि बढाइने उनको भनाइ छ ।

सत्याललाई मन्त्रालय तानेपछि दैनिक प्रशासन सञ्चालनका लागि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई यातायात कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । सचिव तामाङका अनुसार समितिको प्रतिवेदनले सत्यालमाथि लागेको आरोपको सत्यता उजागर गर्नुका साथै कार्यालयको सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा पनि दिशानिर्देश गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.