
काठमाडौं । प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा आइतबार दिउँसो दोहोरो झडप भएको छ ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै शनिबारदेखि एमाले आन्दोलित छ । प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरू र प्रहरीबीच शनिबार पनि झडप भएको थियो ।
माइतीघरबाट बानेश्वरतर्फ गइरहेका प्रदर्शनकारी र प्रहरीबीच आइतबार पनि झडप भयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिनका लागि गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसको आधारमा प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेपछि एमालेले देशव्यापी आन्दोलन घोषणा गरेको हो । ओली स्वास्थ्य समस्याका कारण महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरीको महाराजगन्जस्थित गणमा राखिएको छ । एमाले कार्यकर्ताले ओलीसहित लेखकको पनि रिहाइ माग गरिरहेका छन् ।
























