धनकुटामा सरकारी जग्गा घोटाला : कर्मचारीसहित १५ जनाविरुद्ध मुद्दा

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०७:२४

विराटनगर । धनकुटामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापी कार्यालयका कर्मचारीसहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार दायर गरिएको आरोपपत्रमा सरकारी संरचनाभित्रकै मिलेमतोबाट ठूलो अनियमितता गरिएको उल्लेख छ । आयोगका अनुसार प्रतिवादी बनाइएका कर्मचारीहरूमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलिया, छुट जग्गा दर्ता समितिका सदस्य तथा शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका तत्कालीन सर्वेक्षक राजेन्द्रप्रसाद यादव, साविक तांखुवा गाविसका तत्कालीन सचिव भक्तबहादुर भट्टराई र मालपोत कार्यालयकै नायब सुब्बा छविलाल फुयाँल रहेका छन् ।

यी कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गर्दै सरकारी जग्गा व्यक्तिको नाममा सार्ने काममा भूमिका खेलेको आरोप लगाइएको छ । आरोपपत्रअनुसार धनकुटाको साविक तांखुवा गाविस–९ अन्तर्गत पर्ने कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ को सरकारी जग्गा मिलेमतोमा २०६६ साल मंसिर २१ गते माधबहादुर भट्टराईको नाममा दर्ता गरिएको थियो । यस प्रक्रियामा सरकारी अभिलेख हेरफेर गरी नियमविपरीत काम गरिएको अख्तियारको दाबी छ ।

मुख्य आरोपीमध्ये सुरेश थपलिया, टंकप्रसाद दुवाडी र राजेन्द्रप्रसाद यादवविरुद्ध जनही ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय माग गरिएको छ । त्यस्तै, भक्तबहादुर भट्टराई, छविलाल फुयाँल र जग्गाधनी माधबहादुर भट्टराईविरुद्ध पनि सोही बराबर बिगोका साथै थप जरिबाना र कैद सजाय माग गरिएको छ ।

यसै, प्रकरणमा संलग्न अन्य १० जनाविरुद्ध भने उक्त जग्गा जफत गर्न माग गरिएको छ । हाल जग्गाधनी रहेका खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, कुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिंजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर तथा स्वर्गीय पूर्णबहादुर थापाको हक सकार गर्ने राजेन्द्र थापासहितका व्यक्तिहरूको जग्गा जफतको माग गरिएको छ ।

आयोगले सरकारी सम्पत्ति हिनामिना गरी निजीकरण गर्ने कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.