
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा ओलीको र न्यायाधीश कुमार रेग्मीको इजलासमा लेखकको पेसी तोकिएको छ।
यी दुवै पेसीहरू सम्बन्धित इजलासको पहिलो क्रममै रहेका छन्। शनिबार भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्यले र लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।
अध्यक्ष ओली शनिबार पक्राउ परेलगतै स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। हाल उनी अस्पतालमै चिकित्सकको निगरानीमा रहेका छन्। आइतबार मात्रै काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलन दमनमा संलग्न रहेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा वर्तमान सरकारले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। यसअघि आइतबार नै सोही मुद्दामा पूर्वमन्त्री दीपक खड्कालाई समेत अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको थियो।
























