
काठमाडौं । नेकपा (एमाले) ले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। गैरकानुनी रूपमा ओलीलाई पक्राउ गरिएको भन्दै एमालेले आफ्नो विरोधका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो।
एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा विरोध प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले सरकारको निरंकुश शैलीविरुद्ध एकजुट हुन भन्दै पार्टीका सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई माइतीघरमा सहभागिताका लागि अपिल समेत गरेका छन्।
एमालेले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत र प्रतिशोधपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएको छ। पार्टी अध्यक्ष ओली शनिबार भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेदेखि नै एमालेले नियमित रूपमा सडक प्रदर्शन गर्दै आएको छ। एमालेका अनुसार यो आन्दोलन ओलीको ससम्मान रिहाइ नभएसम्म जारी रहनेछ।
























