
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि असन्तुलित बजेट वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने बताएका छन् ।
प्रदेश योजना आयोगले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विगतका कमजोरीको समीक्षा गरी सबै क्षेत्रमा ठोस परिणाम दिने गरी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ परिवेश अनुसार सिक्दै र आफूलाई पनि परिवर्तित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित ढंगले सञ्चालन गरी यसपटकको बजेटमा त्यहाँ प्रविष्ट भएका योजनालाई प्राथमिकता दिने बताए ।
प्रदेश संरचनाले धेरै काम गरे पनि ती काम देखिने गरी अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै उनले गत वर्षको जस्तो बजेट निर्माणका कमजोरी यसपटक नदोहोरिने स्पष्ट पारे । जिल्ला तहबाट नै बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिँदै उनले मन्त्री र सचिव फेरिरहने परिपाटीले विकासको गति रोकिने गरेको समेत बताए ।
कोशी प्रदेश योजना आयोगले सोमबार आयोजना बैंक सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण गरेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरूलाई योजना छनोट र योजना बैंकमा प्रविष्ट गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो । सोही अवसरमा प्रदेश सरकारले विभिन्न विश्वविद्यालय र क्याम्पसहरूसँग अनुसन्धान, खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर समेत गरेको छ ।
विशेषगरी परम्परागत रूपमा उत्पादन गरिने घरेलु मदिराको गुणस्तर, परीक्षण र ब्रान्डिङका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको छ । यस्तै डिग्री क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता भएको छ ।
योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले आगामी वैशाख ५ गतेभित्र आयोजनाहरू प्रविष्ट गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रममा सभामुख, मन्त्रीहरू, योजना आयोगका पदाधिकारी र शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
























