
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवार ठहर गर्दै प्रहरीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई पक्राउ गरेको छ।
मंगलबार बिहान सुविधानगरबाट पक्राउ परेका रिजालमाथि भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घातक बल प्रयोग गर्न आदेश दिएको आरोप छ।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि सरकारले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
आयोगको प्रतिवेदनअनुसार रिजालमाथि पदीय जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गरेको मुख्य आरोप छ। बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीको ज्यान जाँदा पनि प्रजिअको हैसियतमा स्थिति नियन्त्रणमा लिन प्रभावकारी पहल नगरेको आयोगको ठहर छ।
कर्फ्यु जारी गरेपछि पनि सुरक्षा निकायबीच समन्वय गराउन नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन असफल भएको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा उनीमाथि मुलुकी अपराध संहिताअनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।
पक्राउ परेका रिजालले भने आयोगसमक्षको बयानमा आफूले घातक हतियार प्रयोगको आदेश नदिएको दाबी गरेका छन्। उनले संसद भवन जोगाउने र प्रदर्शनकारीको सुरक्षा गर्ने उद्देश्यले न्यूनतम बल प्रयोग गर्न मात्र निर्देशन दिएको जिकिर गरे। अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल रबरको गोली प्रहार गर्ने मौखिक आदेश दिएको उनको भनाइ छ।
भदौ २३ गते तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवको निर्देशनमा कर्फ्यु लगाएको भन्दै उनले सुरक्षाकर्मीलाई संयमता अपनाउन निर्देशन दिएको दाबी गरे पनि आयोगले उनलाई जिम्मेवारीबाट मुक्त राख्न नसकिने स्पष्ट पारेको छ।
यसअघि सोही घटनाको छानबिनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। उनीहरूलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।
रिजाल पक्राउ परेसँगै जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धानले थप नयाँ मोड लिएको छ। सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उच्च पदस्थ अधिकारीहरू धमाधम कानुनी घेरामा तानिएका छन्।
























