
भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकलाई बुधबार चार्टर उडानमार्फत स्वदेश ल्याइने भएको छ ।
कुवेत एयरवेजको वाइडबडी बोइङ ७७७–३०० विमानले करिब तीन सय यात्रु बोकेर दिउँसो ४स्४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त चार्टर उडानका लागि अनुमति दिइसकेको छ ।
कुवेतस्थित नेपाली दूतावासको समन्वयमा स्वदेश फर्किन चाहेका नागरिकलाई सुरक्षित रूपमा ल्याउन पहल गरिएको हो । विमानस्थलका अनुसार यात्रु अवतरण गराएपछि सोही विमान साँझ ६ः१५ बजे पाकिस्तानको लाहोरतर्फ प्रस्थान गर्नेछ । त्यहाँबाट कार्गो लिएर पुनः कुवेत फर्किने उडान तालिका छ ।
मध्यपूर्वको अस्थिर अवस्थाका कारण नेपाल–कुवेतबीच नियमित हवाई सेवा प्रभावित भएपछि नेपालीहरू अलपत्र परेका थिए । अहिले चार्टर उडानमार्फत नेपालीहरुको उद्धार गर्न लागिएको हो ।
























