
धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित ‘जुन तारा स्टाफ लाइन’ होटलमा मंगलबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
कास्कीको पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक होटलको कोठाभित्र शंकास्पद अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार युवतीको शव कोठाभित्र फेला परेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि आवश्यक घटनास्थलको मुचुल्का तयार पारिएको छ । त्यसपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जानकारी प्रहरीले दिएको छ ।
घटना सार्वजनिक भएपछि होटल सञ्चालक रामपुकार साह तथा केही कर्मचारी सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । उनीहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार घटनाको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन । मृत्युसँग जोडिएका सबै पक्षबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ ।
होटलका कर्मचारीदेखि सञ्चालकसम्मलाई केन्द्रमा राखेर बयान संकलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा शंका र चासो बढाएको छ । प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाइरहेको कुँवरले बताए ।
























