सांकेतिक तस्बिरकाठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका २ जना नेपाली नागरिकको मृत्यु भएको छ। २८ मार्चका दिन कुर्दिस्तानका छुट्टाछुट्टै सहरमा उनीहरूको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले जनाएको छ।
एनआरएनए इराकका अनुसार मृत्यु हुनेमा गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घले रहेका छन्। साविक धावा–३, तान्द्राङ (गोरखा) घर भएकी रिता भुजेल सुलेमानिया सहरस्थित आफू बस्ने कोठामै मृत अवस्थामा फेला परेकी हुन्। उनी विगत १० वर्षभन्दा लामो समयदेखि सोही क्षेत्रमा कार्यरत थिइन्।
त्यसैगरी, लमजुङको दोर्दी–५, पाचोक घर भएका लेखमान घलेको एर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी केही समयदेखि अस्वस्थ भई उपचाररत रहेको बताइए पनि स्वास्थ्य समस्याको विस्तृत विवरण भने खुलेको छैन। मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको र शव नेपाल पठाउने प्रक्रियाका लागि आवश्यक समन्वय भइरहेको एनआरएनए इराकले बताएको छ।
























