
काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको पहिलो औपचारिक बैठक सिंहदरबारमा सुरु भएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बसिरहेको यस बैठकमा नवनिर्वाचित प्रतिनिधि सभाका विभिन्न दलका प्रतिनिधिहरू सहभागी छन्।
भोलि दिउँसो २ बजेका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसद्को पहिलो बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने कार्यसूचीबारे बैठकमा छलफल भइरहेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपीन आचार्य, समीक्षा बास्कोटा र प्रकाशचन्द्र परियारको सहभागिता छ। यस्तै, नेपाली कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया तथा नेकपा (एमाले) बाट गुरु बराल र गणेश ठगुन्ना सहभागी छन्।
यसपटकको निर्वाचनबाट संसदमा ६ वटा दलको प्रतिनिधित्व सुनिश्चित भएको छ। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुस्बु ओलीसहित अन्य सांसदहरू उपस्थित छन्। बैठकमा सरकारका प्रतिनिधि र संसद् सचिवालयका वरिष्ठ अधिकारीहरूले पहिलो बैठकको कार्यविधि, शपथ ग्रहण र सभामुख चयनको प्रक्रियाबारे प्रारम्भिक खाका प्रस्तुत गरेका छन्।
प्रतिनिधि सभा निर्वाचनपछि बनेको नयाँ शक्ति सन्तुलनअनुसार यसपटक संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति छ। म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले पनि संसद्मा प्रतिनिधित्व गर्नेछन्। भोलिको बैठकले नयाँ सरकार गठन र संसदीय प्रक्रियालाई अघि बढाउने बाटो खोल्ने अपेक्षा गरिएको छ।
























