सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेविरुद्ध अमिशाले दिइन् उजुरी

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १५:३१

काठमाडौं । नेकपा (एमाले) समर्थक ‘जेन–जी’ युवा अभियन्ता अमिशा पराजुलीले आफ्नो चरित्रहत्या गर्नेहरू विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगेर उनले आफूमाथि अमानवीय गालीगलौज र बलात्कारको धम्की दिनेहरू विरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई असंवैधानिक भन्दै विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि सामाजिक सञ्जालमा तीव्र साइबर बुलिङ सुरु भएको थियो। उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, भ्रामक कुरा फैलाउने र कमेन्ट बक्समा अश्लील गालीगलौज गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन एकमुष्ट उजुरी दिएको बताइन्। आफूले कुनै गलत कुरा नबोलेको भए पनि नियोजित रूपमा आफूलाई निसाना बनाइएको उनको आरोप छ।

उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले कठिन समयमा आफ्नो परिवारले पूर्ण सहयोग गरेको बताइन्। उनले भनिन्, ‘मैले बोलेको भिडियोको दुरुपयोग गर्ने र बलात्कारको धम्की दिनेहरू विरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ। परिवारका सबै सदस्यलाई मैले केही गलत नगरेको थाहा छ, त्यसैले उहाँहरूबाट मलाई ठूलो ढाडस मिलेको छ।’

अध्यक्ष ओलीको पक्राउ विरुद्ध बोलेपछि अमिशामाथि सामाजिक सञ्जालमा निकै तल्लो स्तरमा ओर्लिएर टिप्पणीहरू भइरहेका थिए। साइबर ब्युरोले उजुरी दर्ता गरी घटनाको प्राविधिक अनुसन्धान सुरु गरेको जनाएको छ। सामाजिक सञ्जालमा कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने र धम्की दिने कार्य विद्युतीय कारोबार ऐनअनुसार दण्डनीय हुने प्रहरीले स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.