
काठमाडौं। नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले १८ वर्ष लामो राजनीतिक यात्रा टुङ्ग्याउँदै नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । माओवादी आन्दोलनमा लामो समय सक्रिय रहेका लामाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै आफू अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन् ।
पार्टीमा लामो समयदेखि भूमिकाविहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको तितो अनुभवसहित उनले पार्टी परित्याग गरेका हुन् । लामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा युवा तथा खेलकुद विभागको सदस्यका रूपमा कार्यरत थिए ।
लामाले आफ्नो राजीनामा पत्रमा प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्मनिरपेक्षताका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गरेका छन् । उनले प्रचण्डलाई एक गतिशील रणनीतिकार र खुला हृदयको नेताका रूपमा चित्रण गर्दै विगतमा पाएका जिम्मेवारीका लागि आभार समेत व्यक्त गरेका छन् ।
तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा र खेलकुदमन्त्री हितबहादुर तामाङको कार्यकालमा आफूले पाएका अवसरले राष्ट्रसेवामा योगदान पुगेको उनले उल्लेख गरेका छन् । तर, पार्टी छोड्नुको मुख्य कारणका रूपमा लामाले पार्टीभित्र व्याप्त ‘किचन क्याबिनेट’, गुटबन्दी र नेताका घर धाउने प्रवृत्तिलाई औंल्याएका छन् ।
आफू कुनै पनि गुटमा सहभागी नभएको र नेताहरूको चाकरी गर्ने शैलीमा नलागेका कारण ओझेलमा परेको उनको ठम्याइ छ । पार्टीका दुईवटा महाधिवेशनमा कनिष्ठहरूलाई केन्द्रीय सदस्य बनाइएको र एकताका नाममा बाहिरबाट आउनेहरूलाई सिधै पदाधिकारी तथा पोलिटब्युरोमा समेटिए पनि आफूलाई सधैँ भूमिकाविहीन राखिएकोमा उनले असन्तुष्टि पोखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको पछिल्लो सांगठनिक संरचना र विभिन्न दलहरूबिचको एकताबाट बनेको जम्बो समितिमा समेत आफ्नो कुनै स्थान नदेखिएको उनले बताएका छन् । १८ वर्षसम्म पार्टीको हिस्सा भएर काम गरेकोमा गर्व गर्दै उनले अबका दिनमा एक स्वतन्त्र मतदाताको हैसियतमा मात्र रहने स्पष्ट पारेका छन् ।
























