
जनकपुरधाम । धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज (शुक्रबार) बिहान ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल भर्ने कार्यमा प्रयोग हुने सवारी साधनहरूलाई अनावश्यक अवरोध गर्ने र काम रोकिदिने धम्की दिँदै उनले घुस माग गरेका थिए। निर्माण व्यवसायीले दिएको उजुरीका आधारमा अख्तियारको टोलीले केही समयदेखि उनलाई निगरानीमा राखेको थियो। सोही क्रममा आज बिहान घुस लिँदै गर्दा उनलाई लालगढबाट पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ।
पक्राउ परेका प्रहरी निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सडक निर्माण जस्तो विकास निर्माणका कार्यमा अवरोध सिर्जना गरी व्यक्तिगत लाभ लिन खोजेको आरोपमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।
























