एमालेका युवा कार्यकर्ताद्वारा नेतृत्व परिवर्तनको माग

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १५:०७

काठमाडौं । नेकपा (एमाले) का युवा कार्यकर्ताहरूले पार्टीमा नेतृत्व परिवर्तनको माग गर्दै नेतृत्वलाई शान्तिपूर्ण दबाब दिएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवाहरूले फूल दिएर शुभकामना दिँदै आफ्नो माग प्रस्तुत गरेका हुन्।

संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ लाई चयन गरेपछि एमालेभित्रका युवा पंक्तिमा असन्तुष्टि चुलिएको छ। उनीहरूले युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बनाउनुपर्ने माग राख्दै आएका थिए। माग सम्बोधन नभएपछि युवाहरूले निरन्तर रूपमा विरोधका कार्यक्रमहरू गर्दै आएका छन्।

यसअघि बिहीबार पनि पार्टी कार्यालय परिसरमा प्लेकार्डसहित प्रदर्शन र मौनधारण गरेका युवाहरूले आज भने फरक शैली अपनाएका छन्। उनीहरूले सचिवालय बैठकमा सहभागी हुन आउने नेताहरूलाई फूल दिँदै पार्टीमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न सांकेतिक रूपमा शुभकामना दिएका हुन्।

नेतृत्वमा बसेका पुराना अनुहारहरूले अब युवा पुस्तालाई बाटो छोड्नुपर्ने र पार्टीलाई नयाँ ढंगले गति दिनुपर्ने उनीहरूको तर्क छ। संसदीय दलको नेता चयनको विषयलाई लिएर सुरु भएको यो असन्तुष्टिले पार्टीको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.