
काठमाडौं । संसद्को चौथो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गरेको छ। शुक्रबार सभामुख चयनको प्रक्रिया अगाडि बढेसँगै नेकपाले उक्त पदका लागि राजनीतिक लबिङ सुरु गरेको हो।
संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले राज्यका महत्त्वपूर्ण नियुक्तिहरूमा आफ्नो उपस्थिति सुनिश्चित गर्न नेकपाले उपसभामुख पदमा विशेष चासो देखाएको बुझिएको छ। नेकपाका सचेतक युवराज दुलालले उपसभामुख पद आफ्नो पार्टीलाई दिनका लागि रास्वपासँग आग्रह गरिएको जानकारी दिए। ‘हामीले उपसभामुख पदमा हाम्रो दाबी प्रस्तुत गरेका छौँ र यसबारे छलफल भइरहेको छ,’ उनले भने।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ। शुक्रबार सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालको एकल उम्मेदवारी परेपछि उपसभामुख पद अब अन्य दलको पोल्टामा जाने निश्चित भएको छ। रास्वपा स्रोतका अनुसार उपसभामुख पद नेकपा वा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मध्ये एकलाई दिने विषयमा आन्तरिक गृहकार्य भइरहेको छ।
रास्वपा सभापति रवि लामिछानेले भने उपसभामुखको विषयमा अहिल्यै ठोस निर्णय भइनसकेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुख चयनको प्रक्रियाले पूर्णता पाएपछि मात्रै उपसभामुखबारे औपचारिक छलफल सुरु हुने प्रस्ट पारे। संसद्को पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र दुवै पदको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण आगामी केही दिनभित्रै उपसभामुखको टुङ्गो लाग्ने देखिन्छ।
























