
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना युवक घाइते भएका छन्
इटहरीबाट तरहरातर्फ जाँदै गरेको र होम्स क्षेत्रबाट शान्तिनगरतर्फ जाँदै गरेको दुई मोटरसाइकल राति ८ बजेतिर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थिाये । उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश १–०२–०४–०४७ प ६८८३ नम्बर र प्रदेश १–०२–०४–९ प ६३४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि तरहरा प्रहरी चौकीका इन्चार्ज चम्पा भुजेलको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएको थियो ।
दुर्घटनामा परेर ६८८३ नम्बरको मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएका छन् । स्माइल राईको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ भने रोहित गिरीलाई थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























