
काठमाडौं । नेकपा (एमाले) निकट भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य वकिल बम गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा बमलाई पनि शुक्रबार राति नियन्त्रणमा लिएको हो।
युवा संघको कार्यालय टिममा सक्रिय रहेका बमलाई प्रहरीले अन्य १३ जनासहित पक्राउ गरेको जनाएको छ। कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका उनी लामो समयदेखि काठमाडौंको ठमेल क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर विभिन्न गतिविधिमा संलग्न रहँदै आएका थिए।
पक्राउ परेका बम हाल अपराध अनुसन्धान कार्यालयको हिरासतमा रहेका छन्। प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको र गुण्डागर्दी विरुद्धको अभियानलाई निरन्तरता दिने बताएको छ।
























