नयाँ वर्षमा चौंरी पर्यटन महोत्सव हुने

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १३:०३

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्र चाररातेमा आगामी वैशाख १ गते ‘नवौँ फालेलुङ चौंरी पर्यटन महोत्सव–२०८३’ आयोजना गरिने भएको छ। नयाँ वर्षको अवसर पारेर विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले हिमाली जनजीवन र चौंरी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

समुद्री सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइमा आयोजना हुने यस महोत्सवका बारेमा गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। महोत्सवमा यस वर्ष ६ सयभन्दा बढी चौंरी र तिनका विभिन्न प्रजातिहरूको प्रदर्शनी गरिनेछ। साथै चौंरीजन्य उत्पादनहरू जस्तै घिउ, छुर्पी र चिजका स्टलहरू समेत राखिने आयोजकले जनाएको छ।

मुख्य कार्यक्रम वैशाख १ गते भए तापनि चैत ३० देखि वैशाख २ गतेसम्म तीन दिन विभिन्न गतिविधिहरू सञ्चालन हुनेछन्। महोत्सवको आकर्षणका रूपमा याक र घोडाचढी, याक डान्स र उच्च हिमाली क्षेत्रमा खेलिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहनेछन्। रोचक कुरा के छ भने, ३ हजार ४ सय मिटर उचाइमा हुने फुटबल प्रतियोगिताका विजेताले ४० किलो र उपविजेताले २० किलो चौंरीको घिउ पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।

कञ्चनजङ्घा याक चिज उत्पादक समूह मुख्य आयोजक रहेको यस महोत्सवमा कोशी प्रदेशको पर्यटन मन्त्रालय लगायत विभिन्न संघसंस्थाहरू प्रवर्द्धकका रूपमा रहेका छन्। नेपालका विभिन्न जिल्लाका साथै भारत र भुटानबाट समेत गरी करिब पाँच हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। हिमाली क्षेत्रको मुख्य आम्दानीको स्रोत रहेको चौंरी पालनको संरक्षण र बजारीकरणमा यस महोत्सवले ठूलो टेवा पुऱ्याउने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.