
विराटनगर । झापामा घरको तीन तलाबाट खसेर शनिबार बिहान बालिकाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–५ की मञ्जु उप्रेतीको घरको तीन तला माथिबाट खसेर दमक नगरपालिका–५ का मनोज आचार्यकी ५ वर्षीया छोरी मानस्वी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका उप्रेतीको घरमा डेरा बस्ने ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा पाहुना गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भट्टराई नातामा बालिकाको बुढो मामली पर्छन् । पाहुना गएका बेला घरको तीन तला माथिको कोठामा खेल्ने क्रममा झ्यालबाट बिहान ८ः३० बजेतिर भुइँमा खसेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान १०ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
























