वामदेवले प्रधानमन्त्री बालेनलाई लेखे- ओलीलाई हिरासतमा राख्नु गलत

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १५:२३

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई एक खुलापत्र लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा बालेनलाई बधाई दिँदै गौतमले ओलीमाथि गरिएको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले गलत भएको टिप्पणी गरे ।

उनले ७४ वर्षका वृद्ध र शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानित हुने गरी थुनामा राख्नु उचित नभएको बताए । गौतमले आफ्नो पत्रमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको स्मरण गराएका छन् ।

तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र १९ जनाको मृत्यु भएपछि आफूले नै तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको उनले उल्लेख गरे ।

ओलीको राजीनामा, प्रतिनिधिसभाको विघटन, सुशीला कार्कीको मनोनयन र फागुन २१ को निर्वाचनसम्मका प्रक्रियामा ओलीको पनि सकारात्मक योगदान रहेको गौतमको तर्क छ । तर, अहिले उनै नेतालाई कुनै ठोस कानुनी परीक्षण र प्रमाण बिना एकाबिहानै घर घेराउ गरी पक्राउ गरिनु लोकतान्त्रिक अभ्यास विपरित भएको उनले बताए ।

पूर्वगृहमन्त्री समेत रहेका गौतमले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि लागेको आरोप पहिला अदालतबाट प्रमाणित हुनुपर्ने र छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा मात्र कारबाही हुनुपर्ने जिकिर गरे । मृत्युदण्ड दिइने देशहरूमा समेत दोषीलाई अन्तिम इच्छा सोधिने उदाहरण दिँदै उनले यहाँ परीक्षण नै नगरी रातारात घर घेरेर समात्ने शैली अपनाइएकोमा असन्तुष्टि जनाए ।

उनले वर्तमान सरकारलाई यो गल्ती सच्याउन र वृद्ध एवं अस्वस्थ राजनीतिक व्यक्तित्वलाई यस्तो सकस नदिन विशेष अनुरोध गरेका छन् । प्रधानमन्त्री बालेन शाहको कार्यकालको सफलताको कामना गर्दै गौतमले न्यायपूर्ण र कानुनी प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्न सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.