
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा देशभर मौसम बदली भएको छ । यही प्रणालीका कारण आज (आइतबार) देशका छ प्रदेशमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो विशेषगरी हिमाली र पहाडी भू–भागमा बदली बढ्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई क्षेत्र पनि पूर्ण रूपमा सुरक्षित छैन । मधेशसहित विभिन्न तराई भू–भागमा हावाहुरीसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । केही स्थानमा असिनासमेत पर्न सक्ने भएकाले कृषि तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा भने मौसम क्रमशः सुधार हुँदै जानेछ । हिमाली क्षेत्रमा आंशिक बदली रहने भए पनि तराईमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मौसममा आएको परिवर्तनका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई महाशाखाले आग्रह गरेको छ ।
























