
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले दलीय आबद्धताभन्दा माथि उठेर पूर्ण तटस्थताका साथ प्रतिनिधि सभालाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै मन्त्री डा. वाग्लेले अर्यालको कार्यकाल संसदीय अभ्यासमा खरो साबित हुने बताए। उनले अर्यालले विगतका सफल सभामुखहरूले स्थापित गरेका लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ मजबुत बनाउने अपेक्षा समेत राखे।
सम्बोधनका क्रममा डा. वाग्लेले नेपालको संसदीय इतिहासका तीन प्रमुख सभामुखहरूको उदाहरण प्रस्तुत गरे। उनले २०१५ सालमा कृष्णप्रसाद भट्टराईले ‘सरकार सत्तापक्षको र संसद् विपक्षको हुनुपर्छ’ भनी स्थापित गरेको मानक, २०४८ सालपछि दमननाथ ढुङ्गानाले त्यसलाई दिएको निरन्तरता र २०६५ पछि संक्रमणकालीन अवस्थामा सुवासचन्द्र नेम्वाङले निभाएको समन्वयकारी भूमिकाको स्मरण गरे।
यी अग्रज सभामुखहरूले जोगाएको संसद्को गरिमा र तटस्थताको विरासतलाई अर्यालले कुशलतापूर्वक अघि बढाउनेमा आफू पूर्ण विश्वस्त रहेको डा. वाग्लेको भनाइ थियो। रास्वपाका उपसभापति अर्याल आजै प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।
























